महिला अधिकारको सन्देशसहित सुनिलस्मृतिमा महिला दिवस मनाइयो

रोल्पा । सहयोगी हातहरूको समूह (सहास) नेपालले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध सचेतनामूलक कार्यक्रमका साथ मनाएको छ।

सहास नेपालले सन् २०२४ देखि स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोग तथा सुनिलस्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा गाउँपालिकाको वडा नं. १, ३, ५ र ६ मा उत्थानशील समुदाय विकासका लागि समावेशी, जीविकोपार्जन तथा शिक्षा सशक्तीकरण (BELIEF) कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उक्त कार्यक्रमअन्तर्गत लक्षित वडा कार्यालयहरू, स्वावलम्बन समूह तथा संवाद सञ्जालको संयुक्त आयोजनामा “सबै महिला र बालबालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो।

दिवसका अवसरमा महिला अधिकार तथा समाज परिवर्तनमा महिलाको भूमिकाबारे केन्द्रित बक्तृत्वकला प्रतियोगिता, बालविवाहविरुद्ध लोकगीत प्रतियोगिता, सडक नाटक, ब्यानर तथा प्लेकार्डसहितको र्याली आयोजना गरिएको थियो। साथै कुर्सी दौड, बेलुन फुटाउने, घैंटो फोर्ने जस्ता मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा महिला अधिकार र लैङ्गिक समानताका क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, अन्य वडा जनप्रतिनिधि, कार्यपालिका सदस्य, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, स्वास्थ्य चौकीका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, महिला तथा आमा समूह, स्वावलम्बन कृषक समूह, वडा स्तरीय किशोर–किशोरी सञ्जाल, पत्रकार, समाजसेवी, बुद्धिजीवी, विद्यालय प्रतिनिधि तथा स्थानीय बालबालिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले समुदायमा महिला अधिकार, लैङ्गिक समानता तथा क्षमता विकासका विषयमा सकारात्मक प्रभाव पार्ने र सामुदायिक रूपान्तरण अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस