चार लेन सडकले फेरिँदै दाङको मुहार

दाङ। घोराही–तुलसीपुर चार लेन सडक निर्माणले गति लिन थालेसँगै दाङको मुहार फेरिन थालेको छ। लामो समयदेखि अलपत्र परेको यो आयोजना अहिले तीव्र रूपमा अघि बढ्दा सडक आसपासका साना बजारमा चहलपहल बढ्नुका साथै स्थानीयमा उत्साह थपिएको छ।

सडक निर्माणको जिम्मा पाएको दिवा–बन्दन भगवती जेभीले विभिन्न खण्डमा एकसाथ काम अघि बढाएको छ। सडक छेउछाउका विद्युत पोल तथा रुख हटाइएपछि निर्माण कार्यले थप तीव्रता पाएको छ।

घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म २१ दशमलव ५८ किलोमिटर लम्बाइ रहेको यस सडक सहरी क्षेत्रमा २० मिटर चौडाइमा कालोपत्रेसहित फुटपाथ निर्माण गरी कुल ३० मिटर चौडाइको बनाइनेछ।

चार लेन सडक निर्माणसँगै यस सडक खण्डअन्तर्गत पर्ने सर्रा, नारायणपुर, दुधरास र बिजौरीजस्ता साना बजारहरूमा चहलपहल बढ्न थालेको छ। स्थानीयवासीले यसले थप शहरीकरण र आर्थिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

“सडक निर्माणले यहाँको व्यापार र आवतजावतमा ठूलो परिवर्तन ल्याउनेछ,” स्थानीय सालिकराम पराजुलीले बताउनुभयो।

दुई अर्ब ५३ करोड रुपैयाँ लागतमा २०८२ असार २४ गते सम्झौता गरिएको यस आयोजना २०८५ असार २४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसअघि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टलाई ठेक्का दिइए पनि समयमै काम सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको थियो।

हाल मदन भण्डारी राजमार्ग आयोजनामार्फत निर्माण भइरहेको यो सडक समयमै सम्पन्न भए घोराही र तुलसीपुरबीचको यात्रा सहज हुनुका साथै आसपासका क्षेत्रको आर्थिक तथा शहरी विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस