बुवाको सम्झनामा चौतारी निर्माण

(अघरे) दाङ । केही वर्षअघिसम्म गाउँघरमा प्रशस्तै देखिने चिनो चौतारीहरू पछिल्लो समय विस्तारै हराउँदै जान थालेका छन्। बुढापाकाले आफ्ना स्मृतिका रूपमा रोप्ने गरेका बरपिपलका बोटसमेत लोप हुँदै जान थालेपछि त्यसको संरक्षणका लागि दाङका एक व्यक्तिले उदाहरणीय पहल गरेका छन्।

घोराही उपमहानगरपालिका–२ अघरे निवासी बिमल पोख्रेलले स्वर्गीय बुवाको सम्झनामा चिनो चौतारी निर्माण गर्नुभएको हो। गाउँघरमा पुस्तौंदेखि विश्राम र गफगाफको थलोका रूपमा रहेका चौतारीहरू सहरीकरण, सडक विस्तार र नयाँ संरचना निर्माणसँगै धमाधम हराउँदै गइरहेका छन्। यस्ता चौतारीहरू लोप हुने क्रम तीव्र बन्दै गएपछि संस्कृतिको संरक्षण र बुवाआमाको सम्झनाको प्रतीकस्वरूप आफूले चौतारी निर्माण गरेको पोख्रेलले बताउनुभयो।

करिब ५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त चौतारीमा बटुवाहरूको तिर्खा मेटाउन खानेपानीको धारा समेत जडान गरिएको छ। बुवा राममणी पोख्रेल र आमा हरिकला पोख्रेलका ६ छोरा मध्ये बिमल कान्छा छोरा हुनुहुन्छ। समाजमा केही गरेर जानुपर्छ भन्ने बुवाको सोचबाट प्रेरित भएर आफू सामाजिक कार्यमा अग्रसर भएको उहाँको भनाइ छ।

संस्कृतिको एउटा जिउँदो चिनो संकटमा परेको बेला पोख्रेलले गर्नुभएको यो पहल सबैका लागि अनुकरणीय बनेको छ। पुरानो संस्कृतिको जगेर्नासँगै स्वच्छ हावा र हरियाली वातावरणका लागि पनि यस्ता चौतारीहरूको निर्माण र संरक्षणमा सबैको ध्यान जान जरुरी देखिन्छ।

प्रकाशित मिति : २०८२ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस