घोराही, दाङ । दाङमा अव्यवस्थित जग्गा प्लटिङ र विद्युत पोल नजिकै घर निर्माणको क्रम बढ्दै जाँदा करेन्ट लाग्ने जोखिम गम्भीर बन्दै गएको छ। घरकै छतमाथि नाङ्गो विद्युत तार रहँदा सर्वसाधारण, विशेषगरी बालबालिका उच्च जोखिममा परेका छन्।
घोराही उपमहानगरपालिका–१८ नवलपुरकी धना आचार्य दैनिक कामकाजमा व्यस्त रहँदा पनि सधैं घरमाथि तानिएको विद्युत तारप्रति सचेत रहनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ। घरको छतमा बालबालिका खेल्दा वा केही काम गर्दा नाङ्गो तारमा छोइने हो कि भन्ने चिन्ताले सताउने गरेको उहाँको भनाइ छ।
नवलपुरकै मोहन आचार्यको समस्या पनि उस्तै छ। उहाँले गत असार १४ गते विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा नाङ्गो तार व्यवस्थापनका लागि निवेदन दिनुभएको थियो। तर निवेदन दिएको महिनौँ बितिसक्दा पनि कुनै सुनुवाइ नभएको भन्दै उहाँले गुनासो गर्नुभयो। पटक–पटक कार्यालय धाउँदा पनि समस्या समाधान नभएको उहाँको भनाइ छ।
यता विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले कार्यविधिले रोकेका कारण सबै ठाउँमा पोल सार्न नमिल्ने बताउनुभएको छ। दाङका विभिन्न स्थानमा विद्युत पोल ढल्किएको सम्बन्धी गुनासो आउने गरेको र कार्यविधिले गर्न मिल्ने हदसम्म समस्या समाधान भइरहेको उहाँले जानकारी दिनुभयो।
सम्बन्धित निकायको ढिलासुस्ती र उपभोक्ताको असावधानीका कारण दाङमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अघिल्लो वर्ष करेन्ट लागेर ४ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको ६ महिनामै यो संख्या ५ पुगेको छ।
