एक व्यक्तिको पहलले फेरिएको गाउँको पहिचान

कोटमौला, सल्यान । एक जना व्यक्तिले चाह्यो भने सिंगो गाउँको मुहार फेरिन सक्छ भन्ने उदाहरण बनेको छ सल्यानको कोटमौला। मागचौर नगरपालिका–८ मा पर्ने यो गाउँ आज ‘सुन्तला गाउँ’ को नामले परिचित छ।

तत्कालीन कोटमौला गाविसमा पर्ने यस गाउँमा व्यवस्थित रूपमा सुन्तला खेती सुरु गराउने श्रेय त्यतिबेलाका जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख रामप्रसाद पुलामीलाई जान्छ। वि.सं. २०४२ सालदेखि स्थानीय जयबहादुर चन्दले सामान्य रूपमा फलफूलका बिरुवा उत्पादन गर्दै आए पनि, गाउँभरि सुन्तलाका बोट लगाउने अभियान भने वि.सं. २०५३ सालपछि मात्रै सुरु भएको हो।

आज कोटमौला ‘सुन्तला गाउँ’ बाट वार्षिक करिब ५०० टन सुन्तला उत्पादन हुँदै आएको छ। यहाँका किसानहरूले एक सिजनमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। करिब २ सय घरधुरी रहेको यो गाउँबाट वर्षेनी झण्डै २५ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने गरेको छ।

यहाँ उत्पादन भएको सुन्तला पश्चिम नेपालको दाङ, नेपालगञ्ज हुँदै महेन्द्रनगरसम्म पुग्ने गरेको छ। तर पछिल्लो समय जलवायु परिवर्तन, रोग–किराको समस्या र मल अभावका कारण उत्पादनमा केही असर परेको किसानहरूको भनाइ छ।

स्थानीय सरकारले सुन्तला गाउँलाई पकेट क्षेत्रका रूपमा विकास गर्दै उत्पादन वृद्धि, बजारीकरण र कृषि पर्यटनसँग जोड्ने योजना अघि सारेको छ।

एक व्यक्तिको दूरदृष्टि र पहलले गाउँको पहिचानसँगै आर्थिक अवस्थामा समेत परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण बनेको छ कोटमौलाको सुन्तला गाउँ। यदि देशका अन्य स्थानमा पनि स्थानीय हावापानी र माटोअनुसार बाली प्रवर्द्धन गर्न सकियो भने ग्रामीण अर्थतन्त्र थप सुदृढ बन्न सक्थ्यो।

प्रकाशित मिति : २०८२ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस